Wednesday, October 26, 2016

कथा, त्यो बादलको

"म त्यो बादल हँु ।"
"हो, साँच्ची भन्या के म त्यो उडि हिड्ने बादल हँु । निराकार बादल । म गतिहिन छु अनि आफ्नै तालमा मस्त पनि छु । म आफ्नै आवेगमा छु, आफ्नै गड्गडाहट मलाई प्यारो लाग्छ । त्यसैले त म भागी हिड्छु तिमीबाट । 
कति समाउन खोज्छौ तिमी मलाई ? "
"के तिमी थाक्दैनौ ? कति पच्छाइरहन्छौ तिमी यो थाँहा हुँदा हँुदै कि म गतिहिन छु । 
तिमीलाई डर लाग्दैन मेरो गतिहिनताले तिमीलाई पागल बनाउने छ भनेर । कतै तिमी पनि म जस्तै विना उदेश्य विहार गर्न थाल्यौ भने । नियालेर हेर त मलाई । सधै म सफेद कहा हुन्छु र ? कालो, धुस्रो फुस्रो हुँदा के तिमी मलाई हेर्न सक्छौ ? "
"अहँ, सक्दैनौ । म नै धरधरी रुन्छु मेरो त्यो कुरुपता देखेर ।" 

एकोहोरो बोलिरहीन् उनी । म सोच मग्न बन्न पुगे । 

म भन्न चहान्थे, "प्रिय, तिमी बादल भए म तिम्रो आकाश बन्न चहान्छु । तिमी धुस्री फुस्री हुदै रुँदा म तिमीलाई अंगालेर सम्हाल्न चहाँन्छु । होसमा त अहिले नि कहाँ छु र म अब पागलपनको डर हुन । तिमी गतिहिन्ताको कुरा गर्छौ म त तिमी विना पाइला चाल्नै सक्दिन । तिमी थकानको कुरा गर्छौ, म त ठान्छु यो दौडिने शक्ति तिमीले त दिएकी हौ । तिमी उड्छौ र त म दौडिदै छु । नत्र त म उभिन खोज्ने साहस राख्ने नि मान्छे हैन ।" 

आँहा! कस्ता मिठा मिठा शब्दहरु मनमनै बग्दै थिए तर खै के भयो उनीसामु वर्षीन सकेनन । 

म मौन उभीरहे । उनी आफ्नै गतीमा ओझेल भइसकिछिन् । 

No comments:

Post a Comment