Monday, June 19, 2017

साथी तिमी आएनौ ।

साथी तिमी आएनौ । 
झिसमिसे विहानीमा सम्झाए थे मैले तिमीलाई
साथी, आज भेट्नु पर्छ है । 
अनि मीठा मीठा कुरा गर्नुपर्छ, 
तिम्रा शब्द र मेरा शब्द बिचमा
जुहारी चलाउनुपर्छ, 
भाखा मिलाउनुपर्छ, 
शब्द मै आशा व्यक्त गर्नुपर्छ,, 
निराशा पोख्नुपर्छ,
शब्द मै हांस्नुपर्छ,
अनि शब्द मै तिम्रो र मेरो मित्रताको बखान गर्नुपर्छ । 
मध्यान्नमा पनि फेरी सम्झाए मैले तिमीलाई 
साथी आऊ है तिमी । 
आज धेरै दिनदेखी गुम्सीएर मनभित्र रहेका शब्दहरुलाई बाहिर निकाल्नुपर्छ, 
नचिन्ने भए होलान् सायद तिम्रा मेरा शब्द आजभोलि, 
धेरै भयो नि हामी नभेटेको, 
एकपल्ट फेरी परिचय गराउनुपर्छ । 
मुसुक्क हासेर जवाफ फर्कायौ तिमीले 
अनि म हतार हतार,
नगरी श्रंगारपटार 
दौडिदै आए 
मनमा अनेकन शब्द संगाल्दै 
तिमीलाई सुनाउन
तिमीसंग फेरी एकपल्ट शब्दहरुको गीत गुनगुनाउन
तर साथी, 
अंहं तिमी आएनौ 
खैर, केही छैन 
तिमी निस्ठुरी भए नि मेरा शब्द निस्ठुरी छैनन्
वर्षदैछन् फेरी पनि । 
एक्लै भएर के भो ? 
शब्दको आखिर काम नै यही हो । 
एकान्तमा भावनाको  साथ दिने 
व्यग्रतामा आशाको विज रोप्ने 
अनि फेरी निराशामा नि 
मलाई हांस्न सघाउने । 

No comments:

Post a Comment