Monday, December 7, 2015

सपनाको व्यापारी

आज पनि ऊ आयो
मीठा मीठा सपना देखाउँदै
कल्पनामा मलाई डुबाएर
ताज महलको जग बनाउँदै ।

हिजो मात्र उसले मलाई
देखायो सपना शिन्दुरको
उसले भन्यो,
“सारै राम्री हुन्छ्यौ तिमी
त्यो रातो शिन्दुरमा,
मैले दिएको हरियो पोते जब आउँछ तिम्रो गलामा । ”

अँ ।
त्यो हरिायो पोते पनि
उसले मलाई सपनामै दिएको थियो ।

शिन्दुर, पोते उसले दिएको
त्यसमाथि तिलहरी मैले थपेँ,
अनि हेरे ऐना ।

रातो साडी, रातै चोली
अनि बाबाले दिनु भएको घुम्टो ओढी
म चढे डोली ।

वर पर नजर डुलाई
हेरे मैले घुम्टोबाटै

अनि तर्सिए ।
सारै राम्री सोचे थे आफू
तर सबै तिर त्यस्तै त्यस्तै
सबै रहिछन् उहि रुपमा
अनि त्यस्तै नै पहिरनमा

म आत्तिए ।
कतै मेरो राजकुमारले मलाई धोका त दिएन ?
म संग मात्र साटेका सपना अरुलाई त दिएन ?

म झल्यास्स व्युझिए,
दिवा सपनाबाट ।
मेरो अगाडि मेरो सपनाको राजकुमार
व्यापार गर्दै थियो,
शिन्दुर र पोतेको ।
अनि भन्दै थियो अर्कीलाई
“ तपाई यसमा सारै राम्री देखिनु हुन्छ । ”

2 comments:

  1. अहिले आएर यो मान्छे मलाई मन पर्न थालो है । कविता हो कि पोइम हो राम्रो छ।

    ReplyDelete